सडक दुर्घटनाबाट बच्न कानून पालनामा जोड

0
95
सडक दुर्घटना

काठमाडौँ, ७ माघ (रासस) ः सडक दुर्घटनामा मृत्यु हुनेको संख्या बढिरहेका बेला सरोकार भएका निकायका अधिकारीले सुरक्षाका लागि नियम कानूनको पालनामा जोड दिनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल इञ्जिनियर्स एसोसिएसनको सक्रियतामा सरोकार भएका निकायको उपस्थितिमा आजदेखि शुरु भएको दुईदिने सडक सुरक्षासम्बन्धी राष्ट्रिय गोष्ठीको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले विकासशील राष्ट्रमा समेत सडक सुरक्षा चुनौती बनेको बताउनुभयो ।

“सडक सुरक्षा विकासोन्मुख देशमा समस्याका रुपमा छ, सडक सुरक्षामा यातायातका न्यूनतम मापदण्ड पालना हुनुपर्छ, गोष्ठीले सडक सुरक्षाको नीति निर्माणमा सहयोग पुग्नेछ”– उहाँले भन्नुभयो ।

स्वास्थ्य मन्त्री दीपक बोहराले सडक दुर्घटनाले मानवीय स्वास्थ्यमा गम्भीर असर पारेकाले सुरक्षालाई प्राथमिकतामा राखिनुपर्ने बताउनुभयो । “दुर्घटनाका घटनापछि राष्ट्रिय ट्रमा केन्द्रमा धेरैको उपचार भएको छ, चेतना अभिवृद्धिका लागि मन्त्रालय र केन्द्रले पनि प्रत्येक वर्ष कार्यक्रम गर्दै आएका छन्”– उहाँले भन्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले सडक सुरक्षाका लागि पूर्वाधारको प्रकृति फरक गरिनुपर्ने बताउनुभयो । “नेपालको भू–बनोटअनुसारको प्रविधिमा पूर्वाधार निर्माण हुनुपर्छ, हाम्रो भूगोलमा कस्तो प्रविधि प्रयोग गरेर पूर्वाधार निर्माण गरिनुपर्छ भन्ने गोष्ठीले निष्कर्ष निकालोस्”– उहाँले भन्नुभयो ।